काठमाण्डौं । तारकेश्वर नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड मार्फत पुस ३० गते देखि कार्यक्रम लागु भएको हो । पुर्व मेयर रामेश्वर बोहराको बेवास्ताका कारण अलपत्र परेको कार्यक्रम नगरप्रमुख कृष्ण हरि महर्जनले लागु गरेका हुन् । काठमाण्डौं उपत्यकामा बीमा कार्यक्रम लागु गर्ने तारकेश्वर नगरपालिका ७ औं स्थानीय तह रहेको छ ।
तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा आयोजीत एक कार्यक्रममा नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड टेकुका बरिष्ठ स्वास्थ्य प्रशासक सम्भुप्रसाद ज्ञवालीले तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल वडा नं २ का अध्यक्ष तथा तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खडगी, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत सहितलाई लाई बीमा सदस्यता दिएर कार्यक्रम सुभारम्भ गरिएको हो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरप्रमुख महर्जनले बीमा कार्यक्रम नगरवासीका निम्ती सुवर्ण अवसर रहेको बताँउदै कार्यक्रमले नगरवासीमा खुसी छाउने बताए ।
मेयर महर्जनले कार्यक्रम लागु भएसंगै कुनै बेला गोजीमा पैसा नभएको अवस्थामा उपचारका लागि कोही, कसैले पनि बञ्चीत हुनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
स्वास्थ्य बिमा बोर्ड टेकुका बरिष्ठ स्वास्थ्य प्रशासक सम्भुप्रसाद ज्ञवालीले स्वास्थ्य बीमा कार्यक्रम अन्य बीमा कार्यक्रम भन्दा फरक रहेको बताँउदै सबै नागरिकहरुले यस कार्यक्रममा सहभागीता जनाउनुपर्ने बताए ।
ज्ञवालीले स्वास्थ्य बीमा कार्यक्रम सरकारले नाफाका लागि लागु नगरेको स्पष्ट पादै भने “बीमा कार्यक्रमा सहभागी भएका सबै नागरिक बिरामी हुंदैनन्, उनिहरुले तिर्ने प्रिमियमबाट नै बिरामी भएका र गरिब नागरिकहरुका निम्ती पैसा खर्च हुने हो ।”
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खडगीले बीमा कार्यक्रमलाई साँचै व्यवहारमा लागु गर्नका निम्ती मन, बचन र कर्मले लाग्नुपर्ने बताए । प्रवक्ता खडगीले बीमा कार्यक्रमका निम्ती नगरपालिकाले आर्थिक भौतिक लगायत सबै कुरामा कुनै कमि हुन नदिने बताए ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा. लक्ष्मी प्रसाद घिमिरेले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउनु सबैको दायित्व रहेको बताँउदै बीमा कार्यक्रमको लागु भएसंगै पैसाका कारण उपचार गराउन अस्पताल नजाने अवस्थाको अन्त्य भएको बताए ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बीमा कार्यक्रममा सहभागी भएर स्वास्थ्यका निम्ती हुने खर्चको बचत गर्न नगरवासीलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै बीमा बोड बाग्मती प्रदेशका संयोजक जिबलाल खरेलले बीमा कार्यक्रम कुनै न कुनै हिसाबले गरिब परिवारहरुलाई लाभ होस भन्ने हेतुले सरकारले लागु गरेको बताँउदै बीमा कार्यक्रममा सबैको उत्साहजनक सहभागीता रहनेमा विश्वास व्यक्त गरे ।
बीमा कार्यक्रम हाल सम्म देशभरका २० लाख परिवारका ६४ लाख नागरिक सहभागी भएका छन् । बीमा कार्यक्रमका लागि देशभरका ४ सय बढी अस्पतालहरु मार्फत नागरिकले सेवा लिन सक्ने बीमा बोर्डका काठमाण्डौं जिल्ला संयोजक कृष्ण पोख्रेलले बताए ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, तारकेश्वर नगरपाकिाका वडा अध्यक्षहरु लक्ष्मीदास श्रेष्ठ, श्याकृष्ण सापकोटा, कबिराज बस्नेत, स्वास्थ्य शाखाका अधिकृतहरु राधा थपलिया, गणेश कुंवर सहित नगरपालिका बिभिन्न शाखाका प्रमुखहरु, जनप्रतिनिधि सहित बीमा कार्यक्रममा सहभागी हुने ११ वडाकै प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।
बीमा गर्दा कति शुल्क तिनुपर्दछ ? कति पाइन्छ उपचार सुविधा ?
स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनको लागि ५ जना सम्मको परिवारले प्रतिपरिवार प्रति बर्ष रु ३ हजार पाँच सय शुल्क बुझाउनु पर्नेछ भने पाँच जना भन्दा बढी सदस्य भएको परिवारले थप २ सयका दरले शुल्क बुझाउनु पर्ने छ । बार्षिक शुल्क बुझाएका बीमित परिवारले उपचार बापत बार्षिक ५ जना सम्मको लागि रु १ लाख र त्यो भन्दा बढी बीमित सदस्य भएको परिवारले अधिकतम रु २ लाख सम्म उपचार सहयोग पाउने छन् । यस कार्यक्रमका लागि नगरपालिका भित्र ६ महिना अघि देखि बसोबास भएको हुनुपर्ने छ । नगरपालिका भित्र बसोबास गर्ने स्थायी र अस्थायी सबै नागरिकले यो बीमा कार्यक्रममा सहभागी हुन पाउने छन् ।
यि बर्गले बीमा गर्दा छुट पाँउछन
बीमा कार्यक्रममा अति गरिब, एचआइभी संक्रमीत, कुष्ठरोगी, अति अशक्त अपांगता भएका परिवारहरुले कुनै शुल्क तिर्नुपदैन् । महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई बीमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । त्यस्तै ७० बर्ष पुरा भएका जेष्ठ नागरिकको हकमा योगदान र हकमा पुर्ण छुट पाउने छन् । जेष्ठ नागरिकले रु १ लाख सम्मको स्वास्थ्य उपचार सेवा पाउने छन् । समाचार श्रोत सगरमाथा पोष्ट डट कम