५ जहाज खरिद गर्ने तयारीमा नेपाल एयरलाइन्स

काठमाडौं, । नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि ५ जहाज खरिद गर्ने तयारी गरेको छ । ३ वर्षअघि नै बनाइएको व्यापारिक योजना थन्काएर नेपाल एयरलाइन्सले फेरि आन्तरिक जहाज खरिदको योजना बनाइरहेको छ।एयरलाइन्सको इन्जिनियरिङ र कमर्सियल विभागले जहाज खरिदको योजना बनाइरहेका छन्। योजना निर्माण तथा छलफलमा सहभागी अधिकारीहरूका अनुसार तत्कालका लागि ५ वटा जहाज किन्नुपर्ने निष्कर्ष निकालेको छ । ट्रंक रुटमा उडान गर्नका लागि कम्तिमा २ वटा ठूला जहाज चाहिन्छ र दुर्गम क्षेत्रमा उडान गर्नका लागि ३ जहाज चाहिन्छन्। नेपाल एयरलाइन्सले चीनबाट ल्याएका जहाज नउडाउने निर्णय गरेपछि अहिले आन्तरिक उडानका लागि जम्मा ३ जहाजमात्र बाँकी छन्। ती पनि पुराना भएको भन्दै व्यावसायिक रुपमा उडान योग्य नभएको एयरलाइन्सका अधिकारीहरुले बताउँदै आएका छन्।जहाज खरिद गर्नुपर्ने प्राविधिक राय भएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने तत्काल दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिद गर्ने र दोस्रो चरणमा ट्रंक रुटमा उडान गर्ने जहाज खरिद गर्नुपर्ने भन्दै आएको छ।