जगदीश्वरनरसिंह केसी
भदौ २४ , जननायक बीपी कोइरालाको जन्मजयन्ती । बीपीले नेपाली माटोमा जन्म लिएको आज १०७ वर्ष भयो । यसै सन्दर्भमा हरेक वर्ष मुलुकभर बीपीको जन्मोत्सव मनाउने गरिन्छ । बीपीले राष्ट्रियता, लोकतन्त्र र समाजवादको बाटो द्वारा विकसित, समृद्ध र जागरुक नेपालको निर्माणमा जीवन उत्सर्ग गरे । बीपीका सपना, लक्ष्य, चिन्तन र मार्गदर्शनलाई व्यवहारमा कसले कति उतार्ने काम गर्यौँ । स्वयंलाई मूल्याङ्कन र समीक्षा गर्ने अवसर पनि हो बीपी जन्मजयन्ती ।
नेपालमा राजाको शासनले मृत्युदण्डसम्म दिनसक्ने सम्भावना हुँदाहुँदै आठ वर्ष लामो प्रवास बसाइँ पछि बीपी कोइराला २०३३ पुस १६ मा भारतको पटना हुँदै नेपालको त्रिभुवन विमानस्थलमा अवतरण हुँदाको नेपाली राजनीति र समय अन्धकारमय थियो
नेपालमा राजाको शासनले मृत्युदण्डसम्म दिनसक्ने सम्भावना हुँदाहुँदै आठ वर्ष लामो प्रवास बसाइँ पछि बीपी कोइराला २०३३ पुस १६ मा भारतको पटना हुँदै नेपालको त्रिभुवन विमानस्थलमा अवतरण हुँदाको नेपाली राजनीति र समय अन्धकारमय थियो । आजको राजनीतिक समयका लागि बीपीले अनेकन सपना देखेका थिए । यसैले उनलाई मृत्यु सामान्य थियो ।२०३३ मा मेलमिलापको निित लिएर बीपी नेपाल आउनु भनेको मृत्युलाइृ जिस्क्याउनु जस्तै थियो ।
उनका सहकर्मीले नेपाल जाने सल्लाह दिएका थिएनन् । परिवारको पनि चर्को विमति थियो । उनको यो अनपेक्षित र अकस्मात् नेपाल फिर्तीले नेपाली कांग्रेसका समर्थकलाई मात्रै होईन , निरङ्कुश राजतन्त्रलाई पनि आश्चर्यमा पारेको थियो । उनको नेपाल आगमनले नेपाली राजनीतिलाई भिन्न मोड दियो । बीपीले त्यस बेला नेपाल आउने आँट नगरेका भएको भए नेपालको राजनीतिक परिवर्तन यति छिटो र यति सजिलोसंगै हुने थिएन ।
बीपी नेपाल फर्किएका बेला भारतीय राजनीति असहज परिस्थिमा थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएर विरोधीहरूलाई तह लगाउँदै थिईन् । बीपी यसका कट्टर विरोधी थिए । भारतीय स्वतन्त्रता संग्राममा समेत योगदान गरेका बीपीको भारतीय राजनीतिमा समेत राम्रो प्रभाव भएका कारण बीपीको विरोधले ठूलो अर्थ बोक्थ्यो । गान्धीको यो कदमको घोर विरोधी थिए बीपीका मित्र समाजवादी नेता जयप्रकाश नारायण । उनी बीपीका घनिष्ट मित्र थिए ।उनै जयप्रकाशले बीपीको भारत बसाईँ सहज बनाई दिएका थिए । बीपीको भारत बसाइँको समयलाई सहज बनाउनुमा जयप्रकाशले ठूलो योगदान रहेको छ , भन्ने कुरा बीपीका दस्तावेजहरुले पनि प्रष्ट पार्छ । जयप्रकाशसंगको बीपीको सम्बन्ध भएका कारण गान्धी सरकारले बीपीलाई थप दु:ख दिएको थियो । बीपी र जयप्रकाश नारायणको सम्बन्धका कारण दुवैलाई अप्ठ्यारो थियो । संकटकालीन विशेषाधिकार प्राप्त गान्धी सरकारले यी दुवैलाई जे पनि गर्न सक्ने अवस्था थियो । यसैले विदेशी भूमिमा मर्नु भन्दा स्वदेशमै मर्नु ठीक भन्दै बीपी नेपाल आए ।
बीपीको नेपाल आगमनलाई धेरैले अन्य ढंगबाट बिश्लेषण गरिरहेका पनि छन् । बीपीले यो कदमलाई राजासँग जोडे । बीपीले यसै आफ्नो मेलमिलापको नीतिलाई राजा र राष्ट्रियतासंग जोडेका थिएनन् । यसैले बीपीको यो भावनालाई बुझेर राष्ट्रियताको परिभाषामा अर्को आयाम थपेको बुझ्नु जरुरी हुन्छ । नेपाली जहाँ जसरी रहे पनि राष्ट्रियताको बिन्दुमा सबै एक ठाउँ हुनु पर्छ, भन्ने ठूलो सन्देश बीपीले दिएका छन् । यसले उनको राजनीतिक उचाइ बढाएको पनि छ । त्यासो त विदेशी जोखिम भन्दा स्वदेशी जोखिमको सिकार हुनु नै गौरव र प्रतिष्ठाको विषय हो भन्ने अठोठ बीपीमा रहेको कुरा पनि सन्देशमूलक ढंगबाट स्थापित भएको छ ।
नेपालको सार्वभौमिकता रक्षा गर्नु सबैको कर्तव्य हो ।
नेतृत्व नै बीपीको मार्गदर्शनबाट च्यूत भएर पार्टीको हुर्मत लिने हर्कतमा लाग्छ भने बीपीको वैचारिक सत्तामा टिकेको पार्टीले कहाँबाट जीवनीरस पाउने र सफल हुने ?
बीपी नेपाल आउँदा ‘इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहारबाट आफु मुक्त भएको आफैँले स्वीकार गरेका छन् । भारतले नेपाल माथि केही गडबड गर्दै छ , भन्ने सुईको पाएका बीपीले नेपाल आगमनलाई ‘राष्ट्रिय मेलमिलापको सिद्धान्त अंगाल्नु पर्यो । यसैी अभियानले आज नेपालको स्वतन्त्र अस्तित्व रहेको छ । यही कदमले बीपीलाई सच्चा नेपाली राष्ट्रवादीका रूपमा चिनाएको छ । राष्ट्र र राष्ट्रियताका लागि जीवनसँग खतरा पनि मोल्न सक्ने नेताका रूपमा बीपी अमर बनेका छन् । बिपीको यो कदमले के सन्देश दिन्छ भने समवेदनाको हिसाबले राष्ट्रियता साझा भावनात्मक अभिव्यक्ति हो ।
विश्व राजनीतिमा कम्युनिस्टहरूको बिगबिगी भएका बेला बीपीले समाजवाद कुरा गरे । समाजवाद कम्युनिस्टहरुको परिचय जस्तै बनेका बेला बीपीको समाजवाद फरक देखिनु अर्को चुनौती थियो । यसैले बीपीले राष्ट्रियतालाई समाजवादसंग जोडिदिएका छन् । समाजवादलाई प्रजातन्त्रसंग जोडिदिएका छन् । बीपीले नै भनेका छन् ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्दछ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ ।’
औद्योगिक क्रान्तिसँगै उदाएको पुँजीवादी विकृतिका विरुद्ध समाजवादको अवधारणा आएको हो । यसैलाई बीपीले नेपाली माटो र जनता सुहाउँदो व्यख्या गर्दै आफ्नो सिद्धान्तमा परिणत गरिदिए । बीपीले समाजवादलाई एउटा झुपडी, एक हल गोरु, एउटा दुहुनो गाई र खेतसँग जोडे ।त्यस बेलाको नेपाली जनताको आवश्यकता त्यही थियो । यसैले बीपीले समाजबादलाई नेपाली माटो सुहाउँदो गरी व्यख्या गरेका रहेछन् भनेर बुझ्नु पर्छ । प्रजातान्त्रिक तवरले समाजवादमा पुग्न सकिन्छ भन्ने मान्यता बीपीको थियो ।
नेपाली कांग्रेसको नेतृत्व बीपी विचारमा इमान्दार भयो , भने देश आफै बन्ने छ । बीपीलाई बुझ्ने कांग्रेस भयो भने जनता स्वत: शक्तिशाली र समृद्ध बन्नेछन् ।
बीपीका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् , भन्ने बनिबनाउ र ओठेभक्तिको भाषा, पार्टी नेतृत्वका सबैको मुखारविन्दबाट व्यक्त भएको सुनिन्छ । तर बीपीका बीचारलाई समय अनुकुल व्यवहारमा उतार्न कोही तयार छैन । बीपीले देखाएको बाटोमा अगाडि बढ्ने र लक्ष्यमा पुग्ने संकल्पको अठोट कसैबाट नसुनिनु नै उदेकलाग्दो पक्ष छ ।
नेतृत्व नै बीपीको मार्गदर्शनबाट च्यूत भएर पार्टीको हुर्मत लिने हर्कतमा लाग्छ भने बीपीको वैचारिक सत्तामा टिकेको पार्टीले कहाँबाट जीवनीरस पाउने र सफल हुने ? यही नै आजको प्रमुख समस्या हो । कांग्रेसको शक्तिको आधार जनता हुन् । जनतालाई चित्त नबुझ्ने गतिविधि गर्ने नेतृत्वले यसको न्यायोचित जवाफ दिनुपर्छ।
आफ्नो निहित स्वार्थपूर्तिको लागि निर्लज्ज र मनपरि ढंगले, सिद्धान्तहीन, अनैतिक साँठगाँठ गर्ने नेतृत्वबाट पार्टी पीडित भईरहेको छ । पार्टीमा वैचारिक पुनर्जागरणको प्रयासले जनता र कार्यकर्तामा आशा सञ्चार हुन थाल्यो । भने, त्यो पुनर्जागरणले पार्टीलाई बीपी विचारमा पुन प्रवृत्त गर्ने कोर्श करेक्सनको काम हुन सकेमा पार्टीलाई पुनर्जीवन मिल्ने छ । अनि बीपी जन्मजयन्तीमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।
नेपाली कांग्रेसको नेतृत्व बीपी विचारमा इमान्दार भयो , भने देश आफै बन्ने छ । बीपीलाई बुझ्ने कांग्रेस भयो भने जनता स्वत: शक्तिशाली र समृद्ध बन्नेछन् । अहिले त नेपाली नागरिकले बीपीलाई कांग्रेसले बुझ्न सक्दैन । बीपीलाई कांग्रेसले जान्दैन भन्ने मनस्थितिमा छन् । बीपीलाई बुझ्न सक्यो , कांग्रेसले भने बीपीप्रतिको सच्चा श्रद्धाञ्जली हुने छ ।